
यती एयरलाइन्सले आफूसँग भएका पाँचवटा जेटस्ट्रिम जहाज गुण एयरलाइन्सलाई हस्तान्तरण गरेको छ। बिहीबार यती समूहका कार्यकारी अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पाँचवटै जेटस्ट्रिम सिरिजका जहाज हस्तान्तरण पत्र दिएका हुन्।
पर्यटन मन्त्रालयबाट उडान संख्या विस्तारको अनुमति पाएसँगै गुणले यतीको पाँचवटा जेटिस्ट्रिम जहाज खरिद गरेको हो। पाँचैवटा जहाजमार्फत नियमित उडान संचालनका लागि गुण यतिखेर नागरिक उड्डयन प्राधिकरणको एओसी प्रक्रियामा रहेको प्राधिकरणको हवाई सुरक्षा विभागले जानकारी दिएको छ। विभागका अनुसार, पाँच चरणको प्रक्रियामध्ये यतिखेर जहाजको परीक्षण भइरहेको छ।
गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले एक अर्ब लगानी गरेर गुण एयरलाइन्सलाई ब्युँत्याएका हुन्। प्राधिकरणबाट एओसी पाएसँगै कम्पनीसँग हाल भएका दुई बिचक्राफ्टसहित सातवटा जहाज हुनेछन्। यतीबाट लिएका पाँचसहित सातवटै जहाज आउँदो दसैंसम्ममा संचालनमा ल्याइसक्ने गुणका अध्यक्ष शाक्यले बताए। ‘हामीले आज प्राप्त गरेका पाँचवटै जहाजको रंगरोगनको काम अब तीव्र गतिमा अघि बढाएर अहिले हामीसँग भएका दुईसहित सबै जहाज दसैंसम्ममा संचालनमा ल्याइसक्छौं,’ उनले भने।
News Link: